ओजश्वी पौडेल
पूर्वीय समाजमा सामाजिक अनुशासन र सद्भावलाई बढी महत्व दिइएको पाइन्छ। यद्धपी यस्तो अवस्थामा व्यक्तिगत स्वतन्त्रतालाई सधैं निरंकुश राज्यद्वारा दमन भएको भनेर बुझ्न हुँदैन।
राजनीतिक आनदोलनका आधारमा हेर्दा चीनमा माओले सञ्चालन गरेको साँस्कृतिक आन्दोलनले स्वतन्त्र विचारलाई कसरी दमन गर्यो र भारतमा ब्रिटिश औपनिवेशिक शासनको विरुद्ध कसरी स्वतन्त्रता आन्दोलनले व्यक्तिगत राजनीतिक स्वतन्त्रतालाई पुनःप्रकाशित गर्यो भन्ने कुरालाई महत्वका साथ विश्लेषण गर्नु जरुरी छ।
पूर्वीय समाजहरूमा व्यक्तिगत स्वतन्त्रतासँगै महिला स्वतन्त्रता पनि एक महत्त्वपूर्ण आयाम हो। चीन, नेपाल, भारत र अन्य देशहरूमा ऐतिहासिक रूपमा महिलाहरूको स्वतन्त्रता कसरी सिमित गरियो भन्ने कुरा महत्वपूर्ण छ। यद्धपी पछिल्ला दशकहरूमा उनीहरूको व्यक्तिगत अधिकार र स्वतन्त्रताका लागि भएका संघर्ष र उपलब्धिहरूले समाजमा धेरै परिवर्तन ल्याएको पाइन्छ। समसामयिक चुनौतीहरु, जस्तै प्रजातन्त्रमा आएका समस्याहरू, नागरिक स्वतन्त्रताको ह्रास, र अधिनायकवादी राज्यहरूमा व्यक्तिगत स्वतन्त्रताको दमनबारे विषय उठान हुनु पनि ज्यादै अर्थपूर्ण हुन्छ।
विशेष गरी परिवार, समाज र साँस्कृतिक मान्यताको महत्त्वले व्यक्तिगत स्वतन्त्रतालाई सीमित गरे पनि व्यक्तित्व विकासको सन्दर्भमा स्वतन्त्रताले महत्वपूर्ण भूमिका खेलेको हुन्छ। विशेष गरी एशियाली समाजहरुमा परिवारको भूमिकाले व्यक्तिगत निर्णयमा अधिकतम प्रभाव पारिरहेको हुन्छ। यद्धपी व्यक्तिगत स्वतन्त्रताको उपस्थिति भने कायमै हुन्छ। मुख्य कुरा अधिकारको प्रयोग कसरी भइरहेको छ र व्यक्तिको व्यक्तिगत विकास र पहिचान निर्माण भएको छ वा छैन भन्ने कुरा नै प्रमुख विषय हो।
आजको प्रविधियुक्त एशियाली समाजमा भने व्यक्तिगत स्वतन्त्रता निकै प्रष्फुटित भएको छ। यसले परम्परागत रुपमा व्यक्तिगत स्वतन्त्रताको अभ्यास सिमित मात्रामा भएको थियो भन्ने प्रष्ट पार्छ। अतः पूर्वीय समाजमा शिक्षा र व्यक्तिगत स्वतन्त्रताको अन्तरसम्बन्ध बारे गहनतम अध्ययन गर्न जरुरी छ।