सुवाश खत्री
स्वतन्त्रता शब्दको उत्पत्ति संस्कृत भाषाबाट भएको हो। संस्कृतमा “स्व” शब्दको अर्थ “आफ्नो” वा “आत्म” र “तन्त्र” को अर्थ “नियन्त्रण” वा “व्यवस्था” हुन्छ। यी दुई शब्द मिलेर “स्वतन्त्रता” बनेको हो, जसको अर्थ “आफ्नै नियन्त्रणमा रहने अवस्था” हो।
स्वतन्त्रताको अवधारणाको विकास विश्वभरका विभिन्न सभ्यताहरूमा फरक-फरक समयमा फरक-फरक तरिकाले भएको पाइन्छ। पश्चिमी भाषाहरुमा प्रयोग हुने “Liberty” वा “Freedom” जस्ता शब्दहरूको पनि आफ्नै विकासक्रम छ। “Liberty” शब्दको उत्पत्ति ल्याटिन भाषाबाट भएको हो, जसको मूल शब्द “Libertas” हो, जुन रोममा व्यक्तिगत स्वतन्त्रता वा दासत्वबाट मुक्तिको सन्दर्भमा प्रयोग गरिन्थ्यो।
यद्यपी आजको समयमा स्वतन्त्रता पश्चिमी वा अँग्रेज अवधारणा मात्रै हो कि जस्तो गरी पढ्दै आएका छौं। विभिन्न आलेख तथा कथ्यहरुमा पनि स्वतन्त्रताको पूर्वीय दर्शन तथा विकासको चर्चा कमै मात्रामा पाइन्छ। जसले गर्दा यो पश्चिमी मुलुकको मान्यता हो भन्ने भएको छ। जसले स्वतन्त्रताको उत्पत्ति र विकासको पूर्वीय विरासतलाई नामेट नै पारेको छ। अतः स्वतन्त्रतालाई साँघुरो परिधिबाट बाहिर निस्किएर बुझ्न जरुरी छ।
व्यक्तिगत स्वतन्त्रता केवल भौतिक स्वतन्त्रता मात्र होइन, यसमा मानसिक, भावनात्मक र आध्यात्मिक स्वतन्त्रता समेत समावेश भएको हुन्छ। यसले व्यक्तिलाई आफ्ना विचार र आस्थाहरूमा स्वतन्त्रता दिन्छ, जसले गर्दा उनीहरूले समाजमा सक्रिय सदस्यका रूपमा भाग लिन सक्छन्।
प्राचीन एशियामा व्यक्तिगत स्वतन्त्रता एक जटिल र बहुआयामिक अवधारणाको रुपमा रहेको पाइन्छ। जसको परिभाषा र व्याख्या विभिन्न सांस्कृतिक, धार्मिक, र राजनीतिक सन्दर्भमा भिन्नाभिन्नै छ। व्यक्तिगत स्वतन्त्रताको अभ्यासले व्यक्तिलाई आफ्नो जीवन र उद्धेश्यको खोजीमा सहयोग पुर्याउँछ। अतः स्वतन्त्रताको स्वतन्त्र अभ्यास नै आजको आवश्यकता हो।
पूर्वीय समाजमा व्यक्तिगत स्वतन्त्रता सामाजिक जिम्मेवारी र आत्मिक मुक्तिसँग सम्बन्धित छ। जसलाई विस्तारमा यहाँ चर्चा गरिएको छ।
- समूहवाद र व्यक्तिगत स्वतन्त्रता
पूर्वीय समाजमा, विशेष गरी कन्फ्युसियस दर्शन, हिन्दू दर्शन, र बौद्ध दर्शनमा, व्यक्तिगत स्वतन्त्रता नैतिकता, अनुशासन, र सामाजिक कर्तव्यसँग जोडिएको छ। यहाँ स्वतन्त्रता भनेको केवल व्यक्तिगत अधिकार नभई अरूसँगको सम्बन्ध र कर्तव्यको सन्दर्भमा बुझिन्छ। पश्चिमी व्यक्तिवाद भन्दा फरक पूर्वीय चिन्तनमा स्वतन्त्रताले सामूहिक उत्तरदायित्व र समाजमा कर्तव्य पालनालाई प्रमुख रुपमा बुझाउँछ। अतः व्यक्तिगत स्वतन्त्रता केवल अधिकारको परिप्रेक्ष्यमा मात्रै होइन, समाजको कल्याण र जिम्मेवारीलाई ध्यानमा राखेर प्राप्त हुने स्वतन्त्रता हो।
- आध्यात्मिक स्वतन्त्रता
पूर्वीय दर्शनहरूमा, व्यक्तिगत स्वतन्त्रताको अर्थ भौतिक वा राजनीतिक स्वतन्त्रता भन्दा बढी आत्मिक, मानसिक, र आध्यात्मिक मुक्ति (जस्तो कि मोक्ष वा निर्वाण) हो। यो पश्चिमी अवधारणासँग तुलना गर्दा अलि फरक छ। जहाँ स्वतन्त्रता प्रायः बाह्य संसारसँगको सम्बन्धमा नापिन्छ। भारतीय परिप्रेक्ष्यमा व्यक्तिगत स्वतन्त्रतालाई आत्मा र शरीरबाट छुटकारा पाउने (मोक्ष) प्रकृयाका रुपमा बुझिन्छ।
३. नैतिक र सामाजिक स्वतन्त्रता
कन्फ्युसियस र अन्य चिन्तकहरूले स्वतन्त्रतालाई सामाजिक अनुशासन र जिम्मेवारीसँग जोडे। कन्फ्युसियसले व्यक्तिगत स्वतन्त्रतालाई नैतिकताको सन्दर्भमा राखेर हेर्थे, जहाँ व्यक्तिले समाजका लागि आफ्नो कर्तव्य पूरा गरेर वास्तविक स्वतन्त्रता प्राप्त गर्न सक्छ। यो पश्चिमी व्यक्तिवाद भन्दा फरक छ, जहाँ व्यक्तिको अधिकार स्वतन्त्रताको मूल आधार हो।
४. सामाजिक संरचनाभित्र स्वतन्त्रता
पूर्वीय समाजहरूमा कर्तव्य, कूल परम्परा, धर्म र परिवारको जिम्मेवारीलाई सम्मान गर्ने कुरामा जोड दिएको पाइन्छ। यसकारण, स्वतन्त्रता सामाजिक संरचनाभित्रको अनुशासनको सन्दर्भमा आएको हो कुरा हो। यसको मतलब व्यक्तिगत स्वतन्त्रताको पूर्ण अभाव भएको भने होइन। बरु यसले अरूको हानी नगरी र सामाजिक सामञ्जस्य कायम राखेर स्वतन्त्रता प्राप्त गर्नुपर्नेमा जोड दिन्छ। अतः पूर्वीय समाज र चिन्तनहरूमा व्यक्तिगत स्वतन्त्रताको अवधारणा नै थिएन भन्नु एकतर्फी र अपूर्ण भाष्य हो।
अन्त्यमा,
व्यक्तिगत स्वतन्त्रता एक मौलिक मानव अधिकार हो, जसले व्यक्तिलाई आफ्नो जीवनका विभिन्न पाटोहरूमा निर्णय लिनको लागि स्वतन्त्रता प्रदान गर्छ। यसले व्यक्तिको विकास, सामाजिक समावेशिता, र लोकतन्त्रको स्थायित्वमा महत्त्वपूर्ण भूमिका खेल्दछ। यद्यपि व्यक्तिगत स्वतन्त्रता प्राप्त गर्न विभिन्न चुनौतीहरूको सामना गर्नुपर्छ। विशेषतः यसको संरक्षण र प्रवर्धनमा राज्यको महत्वपूर्ण भूमिका रहन्छ।
व्यक्तिगत स्वतन्त्रता र मानव अधिकारका लागि निरन्तर संघर्ष, जागरूकता, र सहकार्यले भविष्यमा यसका चुनौतीहरूलाई पार गर्नमा महत्वपूर्ण योगदान पुर्याउँछ। व्यक्तिगत स्वतन्त्रता केवल व्यक्तिको अधिकार मात्र होइन, यसले समग्र मानव सभ्यताको मूल्य र समृद्धि सुनिश्चित गर्नमा ठूलो योगदान पुर्याउँछ।