Skip to content

उद्यमशीलताः समृद्ध समाजको लागि बलियो आधार

Read this Article in English

ओकेन्द्र नाथ योगी

विषय प्रवेश

कुनै पनि नयाँ उद्योग धन्दा व्यापार व्यवसायको थालनी गर्नु उद्यमशीलता हो। तर व्यापार व्यवसाय गर्नु मात्रै उद्यमशीलता होइन। जस्तो कुनै व्यवसायको डिलरशिप लिई थोक तथा फुटकरमा मालसामान बेच्नु व्यापार हो तर उद्यमशीलता होइन। उद्यमशीलता हुनको लागि कुनै पनि व्यापार व्यवसायले उपलब्ध वस्तु तथा सेवाभन्दा  पृथक तथा फरक गुण एवं विशेषता भएका वस्तु तथा सेवा को निर्माण तथा उत्पादन गर्नुपर्छ। अर्थात् नवीनतम् वस्तु तथा सेवाको उत्पादन तथा निर्माण गर्नु  नै उद्यमशीलता हो।

अर्कोतर्फ, बजारमा उपलब्ध वस्तु तथा सेवाको मूल्यलाई फरक ढङ्गले भारी परिमाणमा घटाई कम गरी बिक्री गर्नु पनि उद्यमशीलता हो। वस्तु वा सेवाका बारेमा अध्ययन, अनुसन्धान र विकास कार्य गर्नु पनि उद्यमशीलता हो। उद्यमशीलता नयाँ व्यवसायको डिजाइन, शुरुवात र सञ्चालन गर्ने प्रक्रियाको रूपमा रहेको हुन्छ। त्यसैले उद्यमशीलता भनेको प्रतिबद्धता, कटिबद्धता, कडा परिश्रम, त्याग र निरन्तरताको संयोजन हो।

नयाँ उद्योग, नवप्रवर्तन, नयाँ वस्तु वा आविष्कार गर्ने व्यक्तिलाई उद्यमी भनिन्छ। उद्यमीले सीमित स्रोत, साधन र प्रविधिलाई बढी भन्दा बढी उपयोग गरी ती स्रोत, साधन र प्रविधिलाई सदुपयोग गर्दछ। उद्यमीले नयाँ कुराको थालनी गर्दा उच्च जोखिम मोल्नुपर्ने हुन्छ। यसका लागि उद्यमीसँग अवसरलाई चिन्न सक्ने योग्यता हुन पर्दछ। अवसरको पहिचान र त्यसमा अघि बढ्ने आँटबाट नै उद्यमशीलता जन्मने हो।

उद्यमशीलताकै कारण समाज आर्थिक रुपले अगाडि बढ्न सक्छ। एक जना उमीका लागि अवसर भनेकै समस्याको पहिचान गर्नु हो। यसको मतलब समाजको आवश्यकता के छ? विद्यमान समस्या समाधान अरूले गरेका छन् वा छैनन्?  कसरी उक्त समस्याको समाधान गर्न सकिन्छ? यस्तो वस्तु वा सेवा जो यो भन्दा पहिला अरू कसैले विकास वा उत्पादन वा निर्माण गरेको छ छैन? यी र यस्ता प्रश्नलेनै कसैलाई उद्यमी बनाउन सक्छ।  

यसका अतिरिक्त समस्याको समाधान गर्न सक्ने सीप तथा दक्षताको विकास गर्नु नै उद्यमशीलता हो। जस्तै उदाहरणको रूपमा हेर्दा राइड सेयरिङ एपहरु पठाओ, इनड्राइभ, त्यस्तै अनलाइन बजारका प्रभावकारी उदाहरणका  रूपमा रहेका अलिबाबा डटकम, दराज सपिङ आदि उद्यमशीलताका उदहारण हुन्। अतः उद्यमीहरू सामान्यतया जोखिम लिनेहरू नै हुन् जो आफ्नो लक्ष्य प्राप्त गर्न र संसारमा भिन्नता ल्याउने इच्छाद्वारा प्रेरित हुन्छन्। अर्कोतिर, उद्यमी बन्नु साहसिक कार्य पनि हो। यसले व्यक्तिको जोखिम लिन सक्ने क्षमता समेत मापन गर्न सघाउँछ। 

यस्तै, एक उद्यमीले मानिसहरूलाई मैले के गर्नुपर्छ भनेर कहिले सोध्नु हुँदैन। उद्यमी बन्ने मान्छेले नै अवसर र समस्याको समाधान  पहिचान गर्न सक्नुपर्छ। उद्यमीले जहिलेपनि आफ्नो सबैभन्दा बढी रुचि भएको कुनै एक क्षेत्रको समस्या पहिचान गरी अवसरहरु सिर्जना गर्नेमा ध्यान दिनुपर्छ।

उद्यमशीलताले फरक गुण र विशेषता भएका वस्तु तथा सेवाहरु मार्फत् उपभोक्तालाई आकर्षण गर्छ। अर्थात् भइरहेका वस्तु तथा सेवामा मूल्य थप्ने काम गर्छ। यसका लागि उद्यमीले आफ्नो लक्षित ग्राहकलाई पहिचान  गर्न सक्नुपर्दछ। उद्यमशीलता भन्नासाथ नयाँ वस्तु उत्पादन वा निर्माण गर्नु मात्र होइन। बरु यसले बजारको अध्ययन, अनुसन्धान र विकास समेत गर्दछ। उद्यमीले आफ्ना वस्तु तथा सेवाको सबल तथा दुर्बल पक्षबारे ग्राहकका सुझावका ग्रहण गरी निरन्तर सुधार गर्दै जानुपर्छ। अतः उद्यमशीलता पैसा कमाउनुसँग मात्र सम्बन्धित छैन बरु वस्तु र सेवाको गुणस्तर अभिवृद्धि तथा ग्राहकको सन्तुष्टिसँग सम्बन्धित छ।

उद्यमशीलताको महत्व

उद्यमशीलता कुनै पनि मुलुकको आर्थिक विकासको मेरुदण्ड तथा आधारशीला हो। उद्यमशीलताको विकासले मुलुकको आर्थिक गतिविधिहरूलाई चलायमान बनाउनुका साथै जनतालाई उद्यमी मालिक बन्न प्रोत्साहित गर्दछ। परिणामस्वरुप मुलुकमा रोजगारीको सिर्जना हुनुका साथै वस्तु तथा सेवाको उत्पादन र निर्यात गरी व्यापार घाटा कम गर्ने तथा उपलब्ध स्रोत, साधन तथा कच्चा पदार्थको यथोचित प्रयोग गर्न प्रोत्साहन हुन्छ। अर्कोतर्फ, यसले सम्पत्तिमाथि व्यक्तिको अधिकारलाई स्थापित गराउनुका साथै व्यक्तिको धन आर्जन गर्ने क्षमतामा समेत वृद्धि गर्दछ। 

उद्यमशीलता मार्फत् मुलुकभित्रै यथेष्ट वस्तु तथा सेवाको उत्पादन हुने हुँदा आन्तरिक मागलाई मज्जाले धान्न सक्छ। परिणामस्वरुप आयात कम हुन गई व्यापार सन्तुलन कायम हुन्छ। यसले विदेशी विनिमय सञ्चिति बढाई मुलुकको अर्थतन्त्रलाई धाराशायी हुनबाट जोगाउँछ। उद्यमशीलताका कारण मुलुकको कुल गार्हस्थ्य उत्पादन, प्रतिव्यक्ति आय लगायत आर्थिक विकासका सूचकहरूमा सकारात्मक प्रभाव पर्दछ।

अर्कोतर्फ, उद्यमशीलताका कारण उद्योग व्यवसायमा भएको विकासले भौतिक पूर्वाधारहरू जस्तै शिक्षा, स्वास्थ्य, मनोरञ्जन जस्ता सार्वजनिक स्वार्थ जोडिएका क्षेत्रहरूको विकासमा समेत टेवा पुर्‍याउँछ। नमूना एवं छनोट गरिएका शहरहरूमा उद्योगहरू स्थापना हुनुले छोटो समयमै जनताका माग पूरा गर्न सकिन्छ। जसले अन्ततः पिछडिएको क्षेत्रको विकास गर्दछ र सन्तुलित क्षेत्रीय विकासमा योगदान पुर्‍याउँछ। 

यसैगरी उद्यमशीलताले राष्ट्रको पुँजी निर्माणमा महत्वपूर्ण भूमिका निर्वाह गर्दछ। यसले पुँजी परिचालनलाई बढीभन्दा बढी उत्पादक क्षेत्रमा प्रवाहित गर्न दिशानिर्देश गर्दछ। यस हिसाबले उद्यमशीलता खुला बजार अर्थव्यवस्थाको एक महत्वपूर्ण आयाम हो। यसले आर्थिक अधिकारको स्वतन्त्रताको वकालत गर्दछ। आर्थिक अधिकारको स्वतन्त्रताले कुनै पनि व्यक्तिले वस्तुको उत्पादनदेखि उपलब्ध स्रोत साधनहरुको कुशल छनोट गर्ने स्वतन्त्रता प्राप्त गरेको हुन्छ। जसमा स्रोत साधनको व्यवस्थापनदेखि पुँजी र प्रविधिको प्रयोग तथा नियन्त्रण गर्नेसम्मका अधिकार स्वत: व्यक्तिमै निहित हुन्छ। यसरी उद्यमशीलताले नयाँ नयाँ विचार, आविष्कार र नवप्रवर्तनलाई वृद्धि गर्दै लैजान्छ परिणामस्वरुप वस्तु तथा सेवाको विविधिकरण हुन्छ। यद्धपी उद्यमशीलताका लागि अधिक सरकारी हस्तक्षेप भने हानिकारक हुन्छ।

अन्त्यमा,

उद्यमशीलताले पैसा कमाउन वा जीवन निर्वाहका लागि जागीर खानैपर्छ भन्ने मान्यतालाई अस्वीकार गरी स्वरोजगार बन्न प्रेरित गर्दछ। यसले व्यक्तिलाई कामदारका रुपमा मात्र नभई मालिकका रुपमा स्थापित गर्ने कुरालाई प्रश्रय दिन्छ। युवामा व्याप्त सामजिक तनाव र अशान्तिपनलाई पनि हटाउँछ। 

यस्तै, उद्यमशीलताले देशमा बेरोजगारी समस्यालाई कम गर्न मद्दत गरी आर्थिक वृद्धिमा महत्वपूर्ण भूमिका खेल्दछ। आर्थिक वृद्धिबाटै हामीले मुलुकमा गरिबी निवारण र सामाजिक न्याय कायम गर्न सक्छौं। जसका कारण जनताको जीवनस्तर माथि उठ्नुका साथै समुदायको समेत विकास हुन्छ।

जनगणनाका अनुसार नेपालमा हाल ४२% भन्दा बढी युवा रहेका छन्। यस्तो जनसाँख्यिक लाभको स्थितिमा सरकारले युवाहरुको जोश र जाँगरलाई उपयोग गर्न सक्नुपर्दछ। सरकारले विद्यालय तहको पाठ्यक्रम परिमार्जन गरी शिक्षालाई व्यवहारिक तथा जीवन उपयोगी बनाउनु आवश्यक देखिन्छ। जसका कारण उनीहरुमा नयाँ ज्ञान, सीप, र धारणाको विकास भई उद्यमशीलता प्रवर्द्धन हुनजान्छ।

यस्तै स्थानीय तहहरुले पनि विभिन्न देशको भाषा जस्तै: कोरियन, जापानिज पढाएर युवालाई विदेश पलायन हुन प्रोत्साहन नगरी उनीहरूमा सीप र दक्षताको विकास गरी उद्यमशीलता प्रवर्द्धन गर्नु जरुरी छ। बढ्दो उद्यमशिलताका कारण मुलुकमै रोजगारीको सिर्जना हुन गई रेमिट्यान्स माथिको निर्भरता हट्दै जान्छ र समग्रमा मुलुकको आर्थिक अवस्था उकास्न सहयोग पुग्छ।