
उदारवादको परिचय
व्यक्तिगत स्वतन्त्रता र व्यक्तिको प्रगतिमा केन्द्रित उदारवाद एउटा राजनीतिक र नैतिक दर्शनशास्त्र हो। अर्थात् उदारवादले कुनैपनि राज्यका नागरिकहरुको व्यक्तिगत अधिकार स्थापित हुनुपर्छ र सरकार सीमित हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ। साथै नागरिकहरुका आधारभूत आवश्यकताका परिपूर्तिका लागि भने सरकारले अहम भूमिका खेल्नुपर्छ। प्रज्ञा नेपाली शव्दकोषमा उदारवादलाई ‘आधुनिक राजनीतिक तथा आर्थिक क्षेत्रमा प्रचलित, सबै जनतामा समान सुविधा तथा स्वतन्त्रताको अधिकार मिल्नुपर्छ भन्ने सिद्धान्त’ भनी उल्लेख गरिएको छ।
उदारवादका पनि धेरै प्रकारहरु रहेका छन्। शास्त्रीय उदारवाद, आधुनिक उदारवाद, सामाजिक उदारवाद, र नवउदारवाद। सरकार, बजार र सामाजिक न्यायको भूमिकामा उनीहरुको विचार फरक छ। उदारवादका केही संस्थापकहरू जोन लक, एडम स्मिथ, जोन स्टुअर्ट मिल र इमानुएल कान्ट हुन्। उनीहरूले प्राकृतिक अधिकार, स्वतन्त्र व्यापार, उपयोगितावाद, र विश्वव्यापकतावाद जस्ता उदारवादी विचारहरूको निर्माण गरेका छन्।[1]
उदारवाद लोकतन्त्रसँग सम्बन्धित छ। यसले विधिको शासन तथा मानव अधिकारका कुरालाई महत्व दिन्छ। उदारवादले व्यक्तिको स्वायत्तता र मर्यादामा बलियो जोड दिने राजनीतिक, आर्थिक र सामाजिक प्रणालीहरूको वकालत गर्दछ। कुनैपनि व्यक्तिको स्वतन्त्रतादेखि खुला बजार अर्थतन्त्रसम्मका विषयहरु उदारवादका आधारभूत मान्यताहरु हुन्। उदारवादका केही मुख्य मान्यता वा सिद्धान्तहरु यसप्रकार रहेका छन्।
व्यक्तिगत स्वतन्त्रता
उदारवादले व्यक्तिगत स्वतन्त्रतालाई प्रर्वद्धन गर्दछ। उदारवादले हरेक व्यक्तिमा अन्तर्निहित अधिकार र स्वतन्त्रता सुनिश्चित हुनुपर्छ भन्ने मान्यता राख्दछ। यी अधिकारहरूमा वाक स्वतन्त्रता, धर्म, सभा, र सम्पत्तिमाथिको व्यक्तिको अधिकार आदी रहेका छन्। उदारवादले यी अधिकारहरुको उपयोग गर्नमा नागरिकलाई सरकारले सहजीकरण गर्नुपर्छ भन्ने कुराको पक्षपोषण गर्छ। साथै यी कुराहरुमा सरकारको हस्तक्षेप न्यूनातिन्यून हुनुपर्छ भन्ने नै उदारवादीहरुको मुख्य तर्क हो। व्यक्तिको प्रगतिले नै राज्यको प्रगतिमा टेवा पुर्याउँछ भन्ने मान्यता उदारवादको चुरो कुरा हो। व्यक्ति आर्थिक रुपमा स्वायत्त, आत्मनिर्भर र स्वतन्त्र हुनुपर्छ भन्ने नै यसको मूल मान्यता रहेको छ।
विधिको शासन
उदारवादले विधिको शासनमा आधारित कानूनी प्रणालीको महत्त्वलाई जोड दिन्छ। यसको अर्थ कानून सबै नागरिकलाई समान रूपमा लागू गरिनुपर्छ र कानूनी प्रक्रिया पारदर्शी र अनुमानित हुनुपर्छ भन्ने हो। उदारवादले कानूनी शासनको अवधारणालाई समेत अवलम्वन गर्छ। यसले कानून भन्दा माथि कोही हुनुहुँदैन र कानून सबैलाइ बराबर रुपमा लागू हुनुपर्छ भन्ने कुरामा जोड दिन्छ। सबै कुराहरु विधिअनुरुप चलेमा मात्र पारदर्शिता कायम हुन्छ। अतः शासन कुनै व्यक्ति विशेषको नभई विधिमार्फत् मात्रै गरिनुपर्छ।
सार्वभौमिकता र नैतिक समानता
विधि र कानूनको अगाडी सबै नागरिक समान हुन्छन्। नागरिकका अधिकार रक्षाका लागि नै सरकारले काम गर्नुपर्छ भन्ने कुरा उदारवादी अवधारणा हो। सामाजिक परिवेश र अर्थोपार्जनमा नागरिकको अवस्था समान नभएपनि हरेक नागरिक राज्यका नजरमा समान हुनुपर्छ। उनीहरु सबैलाई राज्यका कामकारबाहीमा समान अवसर र न्यायमा समान पहुँच हुनुपर्छ भन्ने मान्यता उदारवादले राख्दछ।
सीमित सरकार
अमेरिकी साहित्यकार र दार्शनिक आयन र्यान्डले भनेका छन् ‘सरकार एउटा यस्तो सँस्था हो जोसँग निश्चित भौगोलिक क्षेत्रभित्र सामाजिक आचरणका नीति नियमहरू लागू गर्ने शक्ति हुन्छ।’[2] उनका अनुसार सरकारको उद्धेश्य व्यक्तिको सामाजिक अस्थित्वलाई सम्भव बनाउने, उसको हितको रक्षा गर्ने र एक व्यक्तिले अर्कोलाई हानी पुर्याउने जस्ता गल्तीहरूलाई नियन्त्रण गर्ने हो।
सरकारका महत्वपूर्ण कार्यलाई तीन श्रेणीमा बाँड्न सकिन्छ जुन शारीरिक बल र व्यक्तिका अधिकारहरूको रक्षासँग सम्बन्धित छन्। पहिलो —प्रहरीको सहयोगमा व्यक्तिहरूलाई अपराधीहरूबाट रक्षा गर्नु, दोस्रो —सशस्त्र सेवाको प्रयोग गरी विदेशी आक्रमणकारीहरूबाट राज्यको रक्षा गर्नु र तेस्रो —न्यायिक अदालतका माध्यमबाट व्यक्तिहरूको आपसी झगडालाई निरपेक्ष कानूनद्वारा सुल्झाउनु।
उदारवादले सामान्यतया सरकार वा राज्यको सीमित भूमिकाको परिकल्पना गर्छ। व्यक्तिगत स्वतन्त्रता र विधिको शासनको पालनाका लागि सरकारले काम गर्नुपर्ने उदारवादको मान्यता हुन्छ। अर्थात् व्यक्तिको निजी जीवनमा सरकारले यो या त्यो बाहानामा हस्तक्षेप गर्नुहुँदैन भन्ने मान्यता नै उदारवादको चुरो कुरा हो।
खुला र प्रतिस्पर्धी बजार
उदारवादको एउटा महत्वपूर्ण आयाम आर्थिक उदारवाद हो। जसले आर्थिक वृद्धि र व्यक्तिगत समृद्धिलाई प्रवर्द्धन गर्ने महत्वपूर्ण माध्यमको रूपमा खुला बजार अर्थतन्त्र अर्थात् फ्रि मार्केट इकोनोमी लाई लिन्छ। अतः उदारवादको मुख्य अंग आर्थिक उदारवाद अन्तर्गतको खुला र प्रतिस्पर्धी बजार नै हो। उदारवादले बजारलाई खुला बनाउनुपर्छ र उक्त बजारलाई जतिसक्दो प्रतिस्पर्धी बनाउनुपर्छ भन्ने कुरामा जोड दिन्छ। किनभने बजारमा जति धेरै प्रतिस्पर्धा भयो, त्यति धेरै फाइदा आम उपभोक्तालाई हुन्छ।
अर्कोतर्फ स्वतन्त्र बजारले नवप्रवर्तन, दक्षता र अर्थोपार्जनलाइ बढावा दिन्छ। बजार भनेको स्वेच्छिक लेनदेन हो भन्ने यसको मूल अवधारणा हो। कुनै पनि वस्तुको उत्पादनदेखि ग्राहकलाई बेच्दासम्मको प्रत्येक चरणमा मुद्रा नै स्वेच्छिक रूपमा लेनदेनको साधन हो। यसले पुँजी, कामदारको सेवा र स्रोत साधनको लेनदेनमा सघाउँछ। प्रत्येक चरणमा लेनदेनका शर्तहरू र मूल्य चाहिँ मागकर्ता र अपूर्तिकर्ताको स्वतन्त्र सल्लाहमा निर्भर हुन्छ। प्रत्येक पलमा लेनदेनको स्वतन्त्रतापूर्वक र स्वेच्छिक छनौट गरिने भएकोले यस्तो बजार “स्वतन्त्र” मानिन्छ।
आर्थिक वृद्धि
उदारवादी मान्यताअनुसार संसारमा रहेको गरिबी घटाउने एकमात्र उपाय व्यक्तिको आर्थिक क्षमतामा वृद्धि हो। यसका लागि सरकारले व्यक्तिलाई धेरैभन्दा धेरै उत्पादनशील र गुणात्मक बनाउने नीति अवलम्वन गरी निजी क्षेत्रलाई संलग्न गर्न सक्छ। यसरी निजी क्षेत्रले उत्पादन वृद्धि, रोजगारीको सिर्जना र तलब तथा ज्यालामा वृद्धि गर्छ। रोर्बट एन्डरसनले आफ्नो आलेखमा लेखेका छन् ‘धनी देशहरूले आफ्ना अधिकांश नागरिकको आम्दानी उत्पादनमा वृद्धि, रोजगारीको सिर्जना र तलब तथा ज्यालामा वृद्धि गरेर बढाएका हुन्। योबाहेक अरू कुनै उपायबाट विद्यमान गरिब राष्ट्रहरूले आफ्नो गरिबी घटाउन सक्छन् भन्नेमा म एकदम कम विश्वास गर्छु। अतः मेरो विश्वास भनेको निजी क्षेत्रको विकास र गरिबी निवारणबीचको सम्बन्ध स्वाभाविक छ।’ उनले भनेजस्तै उदारवादले राज्य सञ्चालन, रोजगारीको सृजना र गरिबी अन्त्यको लागि निजी क्षेत्रको योगदानलाई महत्वपूर्ण रुपमा हेरिन्छ। व्यक्तिको धन आर्जनले राज्यलाई योगदान गर्छ भन्ने यसको प्रमुख मान्यता रहेको छ।
बहुलवाद
उदारवादीहरूले विविधता र बहुलवादलाई महत्त्व दिन्छन्। विभिन्न विश्वास, संस्कृति र जीवनशैलीहरू एकसाथ रहन सक्ने समाजलाई उदारवादीहरुले समर्थन गर्छन्। सहिष्णुता र समावेशीतालाई उदार समाजको अत्यावश्यक अङ्गको रूपमा हेरिन्छ। यसका साथै उदारवादी मान्यताअन्तर्गत सम्पत्तिमाथि राज्यको नभई व्यक्तिको अधिकार हुनुपर्छ भन्ने लगायतका कुराहरु पर्छन्। सम्पत्तिमा निजी स्वामित्व भएमा त्यसको प्रभावकारी प्रयोग र परिचालन हुनसक्छ। सम्पत्तिको स्वामित्वले नागरिकहरुलाई केही गर्न प्रोत्साहान र उत्प्रेरणा सिर्जना गर्छ।
निष्कर्ष
उदारवाद एक बहुआयामिक र विकसित विचारधाराको रूपमा स्थापित हुँदैछ। समकालीन राजनीतिक विचारमा यसको निरन्तर प्रभाव पारिरहेको पाइन्छ। उदारवादले व्यक्तिगत अधिकार, समानता, र विधिको शासन जस्ता सिद्धान्तहरूलाई प्राथमिकता दिन्छ। उदारवादको विरासत र सम्भावित भविष्य हेर्दा यसले न्यायपूर्ण, समावेशी र लोकतान्त्रिक विश्वव्यापी समाजको लागि योगदान पुर्याउने देखिन्छ। विशेषगरी आर्थिक उदारीकरणले समृद्ध विश्व बनाउनका लागि तथा गरिबी अन्त्य र रोजगारी सिर्जनाका लागि योगदान गर्न सक्छ। अर्थतन्त्रमा राज्यको हस्तक्षेप खुकुलो गर्दै आर्थिक विकासमा निजी क्षेत्रको सहभागिता बढाउन अवलम्बन गरिने नीतिगत व्यवस्था, प्रक्रियागत सरलीकरण, सांगठनिक प्रोत्साहन र प्रतिष्पर्धाको वातावरण विकास गर्ने कार्य नै उदारीकरण हो।
अर्कोतर्फ विश्वव्यापीकरणको लागि सहज वातावरण निर्माण गर्नुलाई पनि आर्थिक उदारीकरण अन्तर्गत हेर्न र बुझ्न सकिन्छ। उदारवादले अर्थतन्त्रमा प्रतिष्पर्धात्मक क्षमता वृद्धि भई आर्थिक रूपले देशको समृद्धि हासिल हुन्छ भन्ने मान्यता राख्दछ। उदारवादी मान्यताअनुरुप रोजगारी राज्यले सिर्जना गर्ने होइन, बरु निजी क्षेत्रको सकृयतामा हुने कुरा हो। अर्थात् कुल गार्हस्थ उत्पादन र रोजगारीमा निजी क्षेत्रको महत्वपूर्ण भूमिकाको परिकल्पना गरिएको हुन्छ। निजी क्षेत्रको इमान्दार सकृयताकै कारण राज्यको आर्थिक वृद्धि तिब्र हुन सक्छ।
[1] https://www.liberalcurrents.com/liberalism-article-paul-crider/
[2] स्वतन्त्र समाजका विचारहरु