सन्जु पौडेल
विषय प्रवेश
प्राचीन एशियामा मानव अधिकारको इतिहासलाइ हेर्दा यहाँको समाज र धार्मिक तथा ऐतिहासिक कागजताहरुलाई सन्दर्भका रुपमा हेर्न आवश्यक छ। मानव अधिकारको आधुनिक अवधारणा वेद, उपनिषद, महाभारत, रामायण लगायतका प्राचीन धार्मिक ग्रन्थहरुमा समेत उल्लेख भएको पाइन्छ। जसको पर्याप्त अध्ययन आवश्यक छ।
मानव भएकै नाताले प्राप्त हुने सबै अधिकारहरू मानव अधिकार हुन। यस्ता अधिकार कुनैपनि राष्ट्रियता, लिङ्ग, जातीय उत्पत्ति, वर्ण, धर्म, भाषा वा अन्य कुनै पनि स्थितिको आधारमा फरक हुँदैन। यी अवधारणा वैदिक परम्परा तथा महाकाव्यहरुमा पनि पाइन्छ।
पूर्वीय महाकाव्यहरुमा मानिसको सबै काम र तिनका परिणामहरूको लागि व्यक्ति नै जिम्मेवार हुने भनी कर्मको परिभाषा दिइएको छ। जसलाई वैज्ञानिक न्युटनले हरेक कार्यको वराबर तर विपरित प्रतिकृया हुने भनी भौतिकवादी व्याख्या गरेका छन्। वैदिक साहित्यमा मानव अधिकारको स्पष्ट रुपमा चर्चा नभएता पनि दार्शनिक र लाक्षणिक रुपमा मानव अधिकारका अवयवहरु भने संलग्न भएको पाइन्छ।
पूर्वीय सभ्यता र मानव अधिकार
पूर्वीय सभ्यतामा विशेष गरी व्यक्तिले कर्तव्य वा दायित्व पूरा गर्नु नै अधिकार पालना गरेको मानिन्थ्यो भने अहिले अधिकार, कर्तव्य र दायित्वलाई फरक फरक पाटोमा विभाजन गरिएको छ। एक व्यक्तिको अधिकारको भोगचलन सम्बन्धमा अर्को व्यक्तिको कर्तव्य जोडिएको भएतापनि मानव अधिकारले बढिजसो अधिकार संरक्षण र संवर्द्धनमा ध्यान दिएको जस्तो देखिन्छ। यद्धपी आधुनिक मानव अधिकारको उजागर वैदिक साहित्यबाट नै भएको हो भन्ने कुरामा सहमत हुने प्रशस्त आधार छन्।
मानव अधिकारका आधुनिक दस्तावेजमा कानूनी आधार प्रमुख रहेका छन् जबकि वैदिक साहित्यमा यो वढी नैतिक विषय रहेको पाइन्छ। ऐतिहासिक, वैचारिक र सांस्कृतिक सन्दर्भमा प्रस्तुत गरिएको भएता पनि वैदिक साहित्यको योगदान र आधुनिक मानव अधिकार बीचमा केही असहमति भने पक्कै छन्। उदाहरणका लागि वैदिक साहित्यले कर्तव्यलाई विशेष जोड दिएको छ। कुनैपनि व्यक्तिले आफ्नो कर्तव्य पूरा गर्नुबाट नै उसको अधिकार सुनिश्चित हुने कुराले अधिकार र कर्तव्य अन्तरसम्बन्धित रहेको देखिन्छ।
आधुनिक मानव अधिकारको अवधारणाले भने व्यक्तिको समानता, स्वतन्त्रता र न्यायलाई विशेष जोड दिन्छ। यहाँ अधिकारलाई कर्तव्यसँग जोडिएको भएतापनि कर्तव्य अधिकार परिपूर्तिको जिम्मेवारी हो भने अधिकार व्यक्तिलाई प्राप्त हुने स्वतन्त्रता हो। अतः वैदिक साहित्य र आधुनिक मानव अधिकार सम्बन्धी अवधारणामा केही समानता भएता पनि स्वतन्त्रता, समानता र न्यायमा भने फरकपन पाइन्छ।
अन्त्यमा,
प्राचीन ग्रन्थहरुमा मानव अधिकारबारे अप्रत्यक्ष उल्लेख गरिएको भएता पनि यसको औपचारिक विकास भने १८ औं शताब्दीमा भएको पाइन्छ। विशेष गरी स्वतन्तासम्बन्धी घोषणापत्र, १७७६, नागरिक स्वतन्त्रता सम्बन्धी घोषणापत्र, १७८९ र मानव अधिकार सम्बन्धी विश्वव्यापी घोषणापत्र, १९४८ महत्वपूर्ण दस्तावेज मानिन्छ।
हाल मानव अधिकारको क्षेत्र र दायरा फराकिलो हुँदै जाने क्रम जारी छ। मानव अधिकारकै माध्यमबाट विश्वभरका मानिसहरुले परम्परागत रुपमा भोग्नुपरेको दासता र विभेदबाट समेत मुक्ति पाएका छन्। यसका साथै विश्वभरी समानताको अवधारणा स्थापित भएको छ।