सुस्मी सापकोटा
व्यक्तिवाद वा स्वाभिमानको परिचय र सिद्धान्त
व्यक्तिवाद एक राजनीतिक तथा सामाजिक सिद्धान्त हो, जसले व्यक्तिगत स्वतन्त्रताको महत्वलाई प्राथमिकता दिन्छ। यसलाई स्वाभिमान भनेर पनि बुझ्न सकिन्छ। यस अवधारणाले नैतिक, स्वामित्व, र पद्धतिगत व्यक्तिवाद जस्ता विभिन्न सिद्धान्तलाई समेट्छ – जसका आ-आफ्नै विशेषताहरु छन्।[1] व्यक्तिवादी संस्कृति वा समाजमा कुनै पनि सङ्गठित समूह भन्दा व्यक्तिलाई धेरै महत्व दिइन्छ जसकारण विशिष्टता, व्यक्तिगत महत्वाकांक्षा, स्वतन्त्रता, आत्मनिर्भरता र गोपनीयतालाई विशेष प्राथमिकता दिइएको पाइन्छ।[2] अर्कोतर्फ, व्यक्तिगत स्वाभिमान र प्रतिष्ठा व्यक्तिवादको एउटा प्रमुख पक्ष हुनुका साथै आधारभूत नैतिक सिद्धान्त पनि हो।
व्यक्तिवादका सिद्धान्तमा तीनवटा मूल तत्वहरु समावेश भएका छन्। पहिलो हो- आत्म-स्वायत्तता/निर्भरता, दोस्रो- आत्म-जिम्मेवारी, र तेस्रो- विशिष्टता।[3]
यहाँ आत्म-स्वायत्तताको अर्थ आत्मनिर्भर भई निर्णय गर्नु र निर्णय अनुसारको काम गर्न सक्नु हो। यस्तै आत्म-निर्भरताले आफैसँग भएका स्रोत, सीप र आफ्ना निर्णयमा निर्भर रहेर जीवनका चुनौतीहरुको सामना गर्ने क्षमतालाई जनाउँछ। यसले अप्ठ्यारो समयमा बाह्य सहयोगमा अत्याधिक निर्भर हुन नपर्ने गरी, आवश्यक आत्मविश्वास र कौशलको विकास गरे व्यक्तिले स्वतन्त्र रुपमा समस्याको समाधान गर्न सक्छ भन्ने विचार समावेश गर्छ। अर्कोतर्फ, आत्म-जिम्मेवारी आफ्ना कार्यहरुका लागि जवाफदेही हुनु र आफ्ना निर्णयका परिणामलाई स्वीकार गर्नुसँग सम्बन्धित छ।[4] यसैगरी विशिष्टताले प्रत्येक व्यक्तिको आफ्नो पहिचान – व्यक्तिगत अनुभव, विश्वास र विशेषताहरुबाट निर्माण हुन्छ, जसले उनीहरुलाई कुनै समूहबाट फरक देखाउँछ भन्ने विचारलाई उजागर गर्छ।
व्यक्तिवादी दर्शनशास्त्रले व्यक्तिलाई आफ्नो विशिष्टता अपनाउन प्रोत्साहन गर्नुका साथै समाजका मान्यता स्वीकार गर्नुपर्ने दबाबको प्रतिरोध गर्न सृजनशीलता, नवप्रवर्तन र व्यक्तित्व विकासलाई बढावा दिन्छ। यसले गर्दा व्यक्तिले आफ्ना भिन्नताहरुलाई अंगालेर नयाँ विचार र धारणाको अन्वेषण तथा आत्म-अभिव्यक्तिको विकास गर्न सक्छन्। अतः व्यक्तिवादले स्वतन्त्रता र आत्म-अभिव्यक्तिको आधार प्रदान गर्नुका साथै व्यक्तिगत अधिकार र समुदायको कल्याण बीच सही सन्तुलनका लागि निरन्तर छलफलको वातावरण तयार पार्छ।[5]
एशियाली समाजमा स्वाभिमान
एशियाली समाज सामूहिकतामा आधारित रहेता पनि प्राचीन संस्कृतिहरूमा व्यक्तिको प्रशंसा अस्तित्वमा रहेको पाइन्छ। पूर्वीय शास्त्रीय विद्धानहरूले समाजबाट अलग हुनुको निर्णयलाई महत्त्व दिंदै यसलाई व्यक्तिगत स्वतन्त्रता अभिव्यक्त गर्ने एक साधनको रूपमा व्याख्या गरेका छन्। जसलाई सन्यास (Eremitism) भनेर चिनिने जीवनशैलीले प्रष्ट पार्छ।
२१ औं शताब्दीसम्म आइपुग्दा युरोप र एशियाको साँस्कृतिक भिन्नता र अन्तरघुलनले दुबैखाले समाजमा व्यक्तिवादको अवधारणा भिन्नाभिन्नै तरिकाले विकसित भएको पाइन्छ। युरोपेली सँस्कृतिमा स्वतन्त्रता र आत्मनिर्भरता माथि जोड दिँदै व्यक्तिलाई स्वतन्त्र प्राणीको रूपमा हेर्ने गरिएको छ भने चिनियाँ सँस्कृतिमा व्यक्तिलाई पारिवारिक, सामाजिक, राजनीतिक, तथा ब्रह्माण्डीय सम्पूर्णताको अनिवार्य भाग मानिएको छ।[6]
हिन्दु साँस्कृतिक परम्परामा व्यक्तिवादलाई आत्म-साक्षात्कारको विस्तृत साधनाका रुपमा लिएको पाइन्छ। व्यक्तिगत स्वायत्तता र स्वतन्त्रतामा केन्द्रित पश्चिमी व्यक्तिवादी अवधारणा विपरित पूर्वीय हिन्दू दर्शनले व्यक्तिको आध्यात्मिक विकास र सामूहिक-सामाजिक सन्दर्भलाई प्राथमिकता दिन्छ। जहाँ व्यक्तिको अन्तिम लक्ष्य मोक्ष अर्थात् मुक्ति हो। जसले अहङ्कारको सीमाभन्दा परको गहिरो आत्म-चेतना र आत्म-पहिचानलाई बुझाउँछ। मुक्तिको अर्को अर्थ भनेको स्वतन्त्रता नै हो। अतः व्यक्तिवादको यस स्वरूपले आत्म-स्वतन्त्रता र ज्ञान प्राप्तिमा जोड दिएको छ। जुन निष्कृयतामा नभई समाज र ब्रह्माण्डप्रति व्यक्तिको कर्तव्यसँगको सामन्जस्यमा हासिल गरिन्छ।[7]
हिन्दू धर्मशास्त्रहरुमा ब्रह्म र आत्माबीचको सम्बन्धलाई विशेष जोड दिइएको छ। ब्रह्म ईश्वरको आत्मा हो वा विश्वव्यापी शक्ति हो, जबकि आत्मा व्यक्ति हो, जुन ब्रह्मको अंश हो। मानव आत्मा वा व्यक्ति र ईश्वरीय आत्मा वा ब्रह्म बीचको यो सम्बन्धलाई हिन्दू ग्रन्थहरुमा विस्तारमा वर्णन गरिएको पाइन्छ।[8] महत्त्वपूर्ण श्रुति ग्रन्थ उपनिषदमा परमेश्वर, परमात्मा-ब्रह्म तथा आत्मको स्वभाव र सम्बन्धका बारेमा दार्शनिक तथा ज्ञानवर्द्धक वर्णन दिइएको छ। यसलाई वेदको आध्यात्मिक पक्षको सहायक व्याख्याको रूपमा समेत मान्न सकिन्छ।[9] उपनिषदहरुका अनुसार आत्मा एक व्यक्तिको वास्तविक सार हो जुन भौतिक शरीर र मनबाट अलग रहन्छ। आत्मा शाश्वत तथा अपरिवर्तनीय छ भने ब्रह्म परम वास्तविकता सँग समान छ।[10]
बृहदारण्यक उपनिषदमा आत्माको प्रकृति र ब्रह्माण्डसँग यसको सम्बन्धबारे चर्चा गरिएको छ। यसमा उल्लेख गरिएको, ‘अहम् ब्रह्मस्मि’ अर्थात् (म ब्रह्म हुँ) ले परम वास्तविकतासँग व्यक्तिगत आत्मको एकतालाई महत्व दिन्छ। यस्तै छान्दोग्य उपनिषदमा यसलाई ‘तत् त्वम् असि’ अर्थात् (त्यो तिमी हौ) भनिएको छ, जसले व्यक्तिगत आत्मा विश्वव्यापी सारबाट अलग छैन भन्ने कुरामा जोड दिन्छ।[11] अतः हिन्दु धर्मग्रन्थमा उल्लेख भएको आत्मा र ब्रह्म बीचको सम्बन्धले आत्म-अनुभूतिको अवधारणाको माध्यमबाट व्यक्तिवादको सार झल्काउँछ। यही बुझाईले व्यक्तिहरूलाई उनीहरूको आन्तरिक मूल्य र व्यक्तित्व पहिचान गर्न सशक्त बनाउँछ। साथै उनीहरूलाई व्यक्तिगत सत्य खोज्न र बाह्य सामाजिक दबाब बिना नै आफ्नो अद्वितीय धर्म पूरा गर्न प्रोत्साहित गर्दछ।
यस्तै भगवद्गीताले पनि आत्म-अनुभूतिको अवधारणा मार्फत् व्यक्तिवादका कुराहरु प्रतिविम्बित गरेको पाइन्छ। जसले व्यक्तिलाई आफ्नो कर्तव्य वा धर्म पूरा गर्न प्रोत्साहित गर्दछ र बाह्य उपलब्धि भन्दा भित्री आत्मामा ध्यान केन्द्रित गर्न आव्हान गर्छ। गीतामा कृष्णले अर्जुनलाई भौतिक शरीर र मनभन्दा परको आफ्नो वास्तविक व्यक्तित्वलाइ बुझ्न र आफ्नो धर्म अनुसार कार्य गर्न सल्लाह दिएको कुरालाई प्रधानताका साथ उल्लेख गरिएको छ।[12]
भगवद्गीताले आत्म-अनुभूति, व्यक्तिगत कर्तव्य (धर्म) र सत्य जीवनमा जोड दिएर व्यक्तिवादका सिद्धान्तहरुलाइ समेटेको छ। यसले व्यक्तिलाई उनीहरूको वास्तविक व्यक्तित्व (आत्मा) लाई बुझ्न प्रोत्साहित गर्दछ। अर्जुनलाई नतिजाहरूमा ध्यान नदिई आफ्नो धर्म अनुसार कार्य गर्न निर्देशन दिएर कृष्णले व्यक्तिगत जिम्मेवारी र नैतिक छनौटको महत्त्वलाई इङ्गित गरेका छन्। व्यक्तिले आफ्नो विशिष्टतालाई अँगाल्नुपर्छ र आफ्नो वास्तविक आत्मा प्रतिबिम्बित गर्ने छनौटहरू गर्नुपर्छ भन्ने कुरालाई गीताको सार मानिएको छ।
यस्तै पतञ्जलीका योग सूत्रहरूले आत्म-अनुभूति र व्यक्तिगत आध्यात्मिक वृद्धिका व्यवहारिक रूपरेखा प्रदान गरेर व्यक्तिवादलाई समर्थन गर्छ। योग अभ्यासको प्राथमिक लक्ष्य मनलाई शान्त पार्नु हो, जसले व्यक्तिलाई मन र शरीरको उतार-चढावबाट अलग आफ्नो वास्तविक आत्म अनुभव गर्न अनुमति दिन्छ।[13]
यसले प्रत्येक व्यक्ति आफ्नै आध्यात्मिक यात्राको लागि जिम्मेवार छ भन्ने विचारलाई बढवा दिएको छ भन्न सकिन्छ। आत्म-अनुशासन, सजगता, र आत्म-निरीक्षणमा जोड दिएर, योग सूत्रहरूले व्यक्तिहरूलाई तिनीहरूको भित्री परिदृश्य पहिचान गर्न, उत्कृष्ट छनौटहरू गर्न, र ज्ञानतर्फ आफ्नै मार्गहरू बनाउन प्रोत्साहित गर्छ।
आधुनिक समाजमा व्यक्तिवाद वा स्वाभिमान
आधुनिक समाजको व्यक्तिवादले मानव स्वभावको दृष्टिकोण र राजनीतिक, आर्थिक, सामाजिक, र धार्मिक ढाँचाहरूमा आधारित व्यापक मूल्य प्रणालीलाई दर्शाउँछ। यसले सरकार वा अन्य सामूहिक संस्थाहरूबाट व्यक्तिहरूको जीवनमा न्यूनतम हस्तक्षेप हुनुपर्छ भन्ने कुराको वकालत गर्दै, आत्मनिर्भरता, गोपनीयता, र आपसी सम्मानलाई प्राथमिकता दिन्छ।
व्यक्तिवादी दृष्टिकोणले एउटा साधारण व्यक्तिलाई आफ्ना लक्ष्य निर्धारण गर्न र त्यसलाई हासिल गर्नका लागि अधिकतम स्वतन्त्रता र जिम्मेवारी दिनुपर्छ भन्ने कुराको तर्क गर्छ। व्यक्तिवाद अन्तर्गत सम्पत्ति प्रणालीले प्रत्येक व्यक्तिलाई आफ्नो इच्छाअनुसार सम्पत्ति हासिल गर्ने, व्यवस्थापन गर्ने, र त्यसमाथि नियन्त्रण गर्ने सर्वोत्तम अवसर प्रदान गर्छ।[14]
यस दृष्टिकोणले विशेषगरी बजार पूँजीवादको उदयलाई प्रभाव पार्दै आर्थिक सिद्धान्तको निर्माणमा महत्त्वपूर्ण भूमिका खेल्छ। यसले स्वतन्त्र बजार प्रणालीको वकालत गर्छ, जहाँ व्यक्तिहरूलाई नवप्रवर्तन गर्ने, प्रतिस्पर्धा गर्ने, र स्वायत्त प्रतिनिधिका रूपमा व्यवसायमा संलग्न हुने स्वतन्त्रता हुन्छ, जसले आर्थिक वृद्धि र समग्र समृद्धिलाई उत्प्रेरित गर्छ।[15]
नेपालको सन्दर्भमा व्यक्तिवादको अवधारणा नयाँ भएतापनि, यसका जरा भने परम्परागत सामूहिकतावादी मान्यताहरूसँग आपसमा गाँसिएका छन्। जहाँ मानिसहरूले प्रायः आफ्ना व्यक्तिगत इच्छाभन्दा परिवार वा समुदायका आवश्यकताहरूलाई प्राथमिकता दिएको पाइन्छ। यद्धपी पछिल्ला वर्षहरूमा सामूहिकता भन्दा व्यक्तिवादिता प्रकट हुन थालेको छ। जसको मुख्य कारण भनेको विश्वव्यापी संस्कृतिहरुको अन्तरघुलन र आधुनिक शिक्षा प्रणाली मुख्य हुन्।
अतः सामाजिक गतिशीलताहरू परिवर्तन हुँदै जाँदा, साँस्कृतिक मान्यताहरूको ध्यान व्यक्तिगत छनौट र व्यक्तिगत लक्ष्यहरूमा बढी केन्द्रित भइरहेका छन्। यस्तै परम्परागत मान्यतामाथि व्यक्तिवादको बढ्दो स्वीकृतिका कारण व्यक्तिगत आकाँक्षासँग मिलाएर निर्णय लिने मानिसहरूको सङ्ख्या समेत बढ्दो छ।[16]
अन्त्यमा
व्यक्तिवादको प्रभावले धेरैजसो नेपालीहरुलाई आफ्ना व्यक्तिगत लक्ष्य र आकाँक्षाहरूलाई प्राथमिकता दिन प्रेरित गरेको छ। यस परिवर्तनमा महत्वपूर्ण योगदान गर्ने थप तत्वहरू आर्थिक अवसर र शहरीकरण हुन्। वित्तीय स्वतन्त्रता खोज्दै र व्यक्तिगत सफलताको लागि प्रयास गर्दै गर्दा, मानिसहरु आफूलाई बढी नै प्राथमिकता दिन थालेका छन्, जसले व्यक्तिवादतर्फको व्यापक आन्दोलनलाई प्रतिबिम्बित गर्छ।[17]
[1] Soares, C. (2018). The Philosophy of Individualism: A Critical Perspective. International Journal of Philosophy and Social Values, 1(1), 11-34. https://doi.org/10.34632/philosophyandsocialvalues.2018.2664
[2] MasterClass. (Nov 14, 2022). Individualistic culture. MasterClass. https://www.masterclass.com/articles/individualistic-culture
[3] Realo, A., Koido, K., Ceulemans, E., & Allik, J. (2002). Three components of individualism. European Journal of Personality, 16(3), 163-184. https://doi.org/10.1002/per.437
[4] NeuroLaunch editorial team. (september 15 2024). Individualism: Psychology definition. NeuroLaunch. https://neurolaunch.com/individualism-psychology-definition/
[5] McKee, D. (April 18 2024). Individualism: Definition. Doc McKee. https://docmckee.com/oer/soc/sociology-glossary/individualism-definition/
[6] Le Thu Trang. (2024). Individualism in Europe: A comparison to Asia. International Journal of Social Science and Education Research Studies, 4(5), 415-419. https://doi.org/10.55677/ijssers/V04I5Y2024-09
[7] Danino, M. (2018, October 4). The individual and the collective in Indian thought. The New Indian Express. https://www.newindianexpress.com/opinions/2018/Oct/04/the-individual-and-the-collective-in-indian-thought-1880928.html
[8] Corley, K. (2023, November 21). Existence & nature of the self in Eastern philosophy. Study.com. https://study.com/academy/lesson/existence-nature-of-the-self-in-eastern-philosophy.html
[9] Wikibook.org. https://ne.wikibooks.org/wiki/उपनिषद
[10] Olivelle, P. (2024, September 24). Upanishad. Encyclopedia Britannica. https://www.britannica.com/topic/Upanishad
[11] Smith, B. K. , Basham, . Arthur Llewellyn , Doniger, . Wendy , Buitenen, . J.A.B. van , Dimock, . Edward C. , Narayanan, . Vasudha and Gold, . Ann G. (2024, September 2). Hinduism. Encyclopedia Britannica. https://www.britannica.com/topic/Hinduism
[12] Malinar, A. (2015). Religious pluralism and processes of individualisation in Hinduism. Religion, 45(3), 386–408. https://doi.org/10.1080/0048721X.2015.1024038
[13] Capelle, B. (2022). [Review of the book Enlightened Individualism: Buddhism and Hinduism in American Literature from the Beats to the Present, by Kyle Garton-Gundling]. American Literary History 34(4), 1629-1632. https://muse.jhu.edu/article/878584.
[14] Lukes, S. M. (2024, October 7). individualism. Encyclopedia Britannica. https://www.britannica.com/topic/individualism
[15] McKee, D. (April 18, 2024). Individualism: Definition. Doc McKee. https://docmckee.com/oer/soc/sociology-glossary/individualism-definition/
[16] NGLearn. (2023, September 15). Increasing individualism in modern Nepali society (class-12). Krishna000.com.np. https://krishna000.com.np/increasing-individualism-in-modern-nepali-society/
[17] NGLearn. (2023, September 15). Increasing individualism in modern Nepali society (class-12). Krishna000.com.np. https://krishna000.com.np/increasing-individualism-in-modern-nepali-society/