रचना पन्थी
पृष्ठभूमि
मानव भएकै नाताले प्राप्त सबै अधिकारहरु मानव अधिकार हुन्। उक्त अधिकार कसैले दिने वा कसैले पाउने भन्ने हुँदैन। यस्ता अधिकार सार्वभौमिक प्रकृतिका हुन्छन्। मानव अधिकार कुनैपनि राष्ट्रियता, लिङ्ग, जातीय उत्पत्ति, वर्ण, धर्म, भाषा, वा अन्य कुनै पनि स्थिति आधारमा फरक हुँदैन। मानव अधिकारभित्र मानिसको बाँच्न पाउने हकदेखि जीवनलाई बाँच्न लायक बनाउन आवश्यक पर्ने हकहरू, जस्तै खाना, शिक्षा, काम, स्वास्थ्य, र स्वतन्त्रता सम्बन्धी अधिकारहरू पर्छन्।[1] उक्त सबै अधिकारहरु समान रूपमा मौलिक छन्। किनभने दिगो र सम्मानित जीवनका लागि यी अधिकारहरु आवश्यक छन्। यी अधिकार बिना जीवनको अधिकार आफैमा सम्झौता हुनेछ, किनकि तिनीहरू सबै मानव अस्तित्वसँग जोडिएका छन्।
मानव अधिकार सबै मानव जातिको मर्यादालाई मान्यता दिने र संरक्षण गर्ने मापदण्ड हो। यस्ता अधिकारको माध्यमबाट व्यक्तिहरू समाजमा कसरी बस्छन्, कसरी एकअर्कासँग अन्तरक्रिया गर्छन्, साथै राज्यसँगको सम्बन्ध र राज्यको उनीहरूप्रतिको दायित्वहरू आदिलाई नियन्त्रण गर्छन्। मानव अधिकार सम्बन्धी कानूनले सरकारहरूलाई निश्चित काम कारबाही गर्न बाध्य पार्छ। र ती अधिकारहरुको संरक्षण राज्यको प्रमुख दायित्व हुन्छ। यद्धपी मानव अधिकारको प्रयोग सम्बन्धमा व्यक्तिको पनि महत्वपूर्ण जिम्मेवारी हुन्छ – उनीहरूले आफ्नो अधिकार प्रयोग गर्दा अरूको अधिकारको समेत सम्मान गर्नुपर्छ। कुनै पनि सरकार, समूह वा व्यक्तिलाई अर्काको अधिकार हनन हुने कुनै पनि काम गर्ने अधिकार हुँदैन।[2]
मानव अधिकारले सबै धर्म, संस्कृति, र दर्शनमा आधारित भई अभिव्यक्त भएका प्रत्येक व्यक्तिमा अन्तर्निहित मूल्य, मान्यता, मर्यादा, र समानताको पारस्परिक सम्मान गर्छ। तिनीहरू एक अर्कालाई निष्पक्ष रूपमा व्यवहार गर्न सिकाउने, सम्मान लिने दिने र दैनिक जीवनमा वास्तविक छनौट गर्ने क्षमता बढाउने कुरासँग सम्बन्धित छन्। मानव अधिकारको सम्मान भनेकै सबल समुदायको आधारशिला हो जसमा सबैले योगदान दिन सक्छन् र सबैले समावेश भएको महसुस गर्छन्।[3]
अतः मानव अधिकार यस्ता मापदण्डहरुको संग्रह हो जसले राज्य र गैर-राज्य पक्षले व्यक्ति र समूहलाई सम्मानजनक जीवनको आधारभूत नैतिक सिद्धान्तहरूमा आधारित व्यवहार गर्नुपर्छ। यस्ता नागरिक अधिकार कुनैपनि राज्यले खोस्न मिल्दैन र यी अधिकार राष्ट्रिय वा अन्तर्राष्ट्रिय कानून मार्फत् सुरक्षित गरिएका छन्। केहीले मानव अधिकारलाई प्राकृतिक कानूनको अंश मानेता पनि उक्त अधिकारहरुलाई सन्धि कानूनको मूल तत्वको रुपमा बुझिन्छ।
मानव अधिकारले नैतिक मान्यता र सिद्धान्तहरु अंगीकार गरेको हुन्छ जसमा मानव व्यवहारको मापदण्ड परिभाषित भएको हुन्छ। साथै मानव अधिकारहरु विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय कानूनी ढाँचा अन्तर्गत निरन्तर रूपमा सुरक्षित हुन्छन्। मानव अधिकार विश्वव्यापी प्रकृतिका छन् र तिनीहरू सबै समय र सबै स्थानमा लागू हुन्छन्।[4]
वेद र महाकाव्य परम्पराको योगदान
संस्कृत शब्द “वेद” मूल शब्द “विद” बाट निसृत भएको हो, जसले “ज्ञान वा विवेक” लाई संकेत वा व्यक्त गर्छ। वेद (वा ज्ञान) सबैभन्दा पुरानो उपलब्ध पवित्र अभिलेख हो जुन भगवान (अपौरुषेय) द्वारा अभिव्यक्त भएको मानिन्छ र ऋषिहरू मार्फत् मानवतामा हस्तान्तरण गरिएको थियो।[5]
मानव अधिकारको आधुनिक अवधारणा वेद लगायत अर्थशास्त्र, धर्मशास्त्र, महाभारत र रामायण जस्ता प्राचीन साहित्यिक तथा लिपी श्रोतहरूमा पनि समावेश भएको पाइन्छ। उक्त ग्रन्थहरुको सार र संयुक्त राष्ट्र संघीय महासभाले घोषणा गरेका मानव अधिकारसम्बन्धी दस्तावेजको तुलनात्मक अध्ययनले प्राचीन लेखहरूमा समानता र नैतिक उत्तरदायित्वको गहिरो परम्परालाई प्रकट गर्छ। ऋग्वेद र अथर्ववेद दुवैले समानतालाई जोड दिन्छन्। यसका साथै धार्मिक परम्पराहरूले मानवताप्रतिको दायित्व, व्यक्तिको जिम्मेवारी र कर्तव्यमा आधारित अवधारणाहरू समेटेका छन्।
प्राचीन भारतीय समुदायहरूले आफ्नो इतिहास, संस्कृति र ज्ञान प्रणालीहरूलाई विभिन्न भाषाहरू मार्फत् संरक्षण गरे, जसका कारण तिनीहरूमा एकता र विविधता दुवै कायम राख्न संभव भयो। ती भाषाकै माध्यमबाट समाजमा जटिल स्तरीकरण र विभिन्न साम्प्रदायिक परम्पराको विकास भयो। जसमा वासस्थान र वातावरणीय नियम समेत संलग्न छन्।
वैदिक विश्व दृष्टिकोण अनुसार यो व्रह्माण्ड एक गुँड हो जहाँ हामी सबै एकतावद्ध भएका छौं (यत्र विश्वम् भवत्यकनिदम्, यजुर्वेद ३२.८) र यहाँ मातृ गर्भमा विश्वव्यापी भ्रातृत्व स्थापित भएको छ (भ्रात्रत्वम् मातुर्गर्भे भ्रमहे, ऋग्वेद ८.८३.८)। यस्तै मानव अधिकारको पारस्परिकताको सिद्धान्त ऋग्वेदको सुक्ति (१९.११७.६) मा उल्लेख छ। जसमा भनिएको छ- केवलाघो भवति केवलादि, अर्थात् जसले एक्लै खान्छ, उसले एक्लै पाप भोग्नुपर्छ।
अथर्ववेदको पृथ्वीसुक्तमा भनिएको “माता भूमिः, पुत्रोहम् पृथ्वीभ्य” ले मानवता र प्रकृतिको अधिकारको सम्बन्ध स्थापित गरेको छ। छान्दोग्य उपनिषदमा उद्दालक-आरुणि संवादले विविधतामा सद्भावको वैदिक दृष्टिकोणलाई प्रकाश पारेको छ। भनिएको छ- हामी विभिन्न रूखहरूबाट रस सङ्कलन गर्न र तिनीहरूलाई एकत्रित गर्न मौरीले झैं काम गर्न सक्छौं। श्रीमद् भगवद् गीतामा उल्लेख भएको कर्तव्य पालना सम्बन्धी निम्न श्लोकले मानव अधिकारको अवधारणालाई झनै सबल बनाउँछ। जसले भन्छ, श्रेयान्स्वधर्मो बिगुणः परधर्मात्स्वनुष्ठितात्। स्वधर्मे निधनं श्रेयः परधर्मो भयावहः। अर्थात् राम्ररी आचरण गरिएको परधर्मभन्दा गुणमा कम भए पनि स्वधर्म नै श्रेयस्कर हुन्छ। स्वधर्ममा निधन उचित छ। परधर्म त भयकारी हुन्छ। यहाँ धर्म भन्नाले कुनै परम्परा नभई गुण हो।
अरूको स्थानमा गएर आफ्ना कर्तव्य पूर्ण रुपमा निभाउनु भन्दा आफ्नो स्थानबाट कर्तव्य पूरा गर्नु मात्र बढी श्रेयस्कर हुन्छ। गीतामा उक्त क्षेत्रलाई मानिसको क्षमता र विशेषतामा आधारित भई नियमन गरिएको छ। गीताका अनुसार परिश्रमका आधारमा मानिसलाई चार जातमा विभाजन गरिएको हो। भनिएको छ- चातुर्वर्णम् मायास्रष्टम् गुणकर्मविभागसः, अर्थात् “म (सर्वोच्च परमात्मा) ले गुण र कर्मका आधारमा चार जातको सृष्टि गरेको हो।”
सारमा भन्नुपर्दा गीताले व्यक्तिगत स्वार्थपूर्तिभन्दा माथि उठेर लोकसंग्रह वा सर्वव्यापी कल्याणको लक्ष्यका लागि कर्तव्य निर्वाह गर्न आग्रह गरेको छ। गीतामा कर्मयोगलाई कर्मको फलसँग अलिप्तता (निवृत्ति) र साधनमा लगाव (प्रवृति) सहित कर्तव्यको प्रदर्शनको रूपमा बारम्बार व्याख्या गरिएको छ। साथै यस्ता कार्यलाई सफलता वा असफलतासँग जोडिएको छ। यसैगरी वैदिक सुत्रात्मन सिद्धान्त र चेतनाको वेदान्तिक सिद्धान्तले मानव अधिकारको विश्वव्यापी सिद्धान्तको आधार प्रदान गर्छ। गीताले सबैलाई आ-आफ्नो तरिकाले भगवानको नजिक जान अनुमति दिन्छ। भनिएको छ- “ये यथा मां प्रपद्यन्ते तांस्तथैव भजाम्यहम्”, अर्थात् यसले पेशाका आधारमा सिर्जना गरिएका चार वर्णलाई पनि अन्तरजातीय आन्दोलनको अनुमति दिन्छ।[6]
“कर्म” को अवधारणाले मानिसको सबै काम र तिनका परिणामहरूको लागि व्यक्ति नै जिम्मेवार हुने कुरामा जोड दिन्छ। उक्त कुरा आधुनिक वैज्ञानिक न्यूटनको गतिको तेस्रो नियमसँग मिल्दोजुल्दो छ। जसले प्रत्येक कार्यको समान तर विपरित प्रतिक्रिया हुने बताउँछ। अर्कोतर्फ कर्म दर्शनले जीवनमा सबै कुरा संयोगवश हुन्छ भन्ने धारणालाई अस्वीकार गर्छ। व्यक्तिका “कार्यहरू” छिटो वा ढिलो यस जीवनमा वा अन्य जीवनकालमा पुनःजागृत हुने कुराले व्यक्तिलाई नराम्रो कर्म गर्नबाट रोक्छ।
कर्म शब्द पहिलो पटक ऋग्वेदमा प्रयोग भएको पाइन्छ। यसको विस्तृत व्याख्या भने बृहदारण्यक उपनिषद र भगवद् गीता जस्ता ग्रन्थहरूमा गरिएको छ। वैदिक साहित्यले उत्तरदायी समाजको वकालत गर्छ, जहाँ व्यक्तिलाई दिइएको अधिकार नै दायित्व पूरा गर्ने अधिकार हो। अतः भगवद् गीताले भनेजस्तै कर्मको सार भनेकै कुनै फलको आशा नगरी आफ्नो दायित्व पूरा गर्नु हो।[7]
यसैगरी महाभारतमा प्रजाप्रतिको राजाको कर्तव्यले प्रजाको अधिकारलाई जनाउँछ भनेको छ। राजाले जनताका लागि के के गर्नुपर्छ भन्ने कुरामा सदैव सचेत हुनुपर्छ साथै अरूको स्वामित्वमा रहेको चिज चलाउनु हुँदैन। बृहस्पतिका अनुसार निरन्तर उत्थान वा विकास नै राजधर्मको लक्ष्य हो। शासकले पञ्चवर्ग वा राज्यका पाँच खण्डहरू: मन्त्री, राज्य, किल्ला, सेना र खजाना (मन्त्री, राष्ट्र, दुर्गा, सेना र कोष) को अखण्डता र अधिकारको रक्षा गर्नुपर्छ। शासकले जनतासँगको सम्झौता र प्रजापतिको स्वीकृति मार्फत् जनतालाई मत्स्यन्यायबाट बचाउनु पर्छ ताकि ठूलाले सानालाई ननिलोस्। यस्तै नारदले शासकलाई प्रजाबाट कर असुली सम्बन्धमा सल्लाह दिएका छन्– जुन न त न्यून न त अत्याधिक नै हुन हुन्छ। कर बाच्छोले गाईबाट दूध लिएजस्तै वा मौरीको घार नष्ट नगरी मह निकालेजस्तो हुनुपर्छ।
आदिपर्वमा व्यासका अनुसार राजाले देवताको पूजा, पुर्खाको श्राद्ध वा पुजारीको काममा बाधा पुर्याउनु हुँदैन, न त खडा बाली नै काट्नु हुन्छ। यस्तै शासकले महिला, बालबालिका वा ऋषिहरूको वध गर्नु हुँदैन। महाभारतमा शान्ति पर्व र अनुशासन पर्वले धर्मको प्रदर्शनमा निर्देशन दिन्छ। शान्तिपर्वमा, भीष्मले युधिष्ठिरलाई शासनका विभिन्न पक्षहरूमा पृष्ठपोषण दिन्छन्– जस्तै सामाजिक व्यवस्थाको संरक्षणमा शासकको कर्तव्य, दण्डको सिद्धान्त, युद्ध, आचरण, आत्म-ज्ञान, व्यक्तिगत इच्छा र आसक्तीको त्याग आदि (राजा र वर्णश्रमधर्म, दण्ड, युद्ध र व्यवहार नीति, आत्मज्ञान, इच्छा र अनाशक्तियोग)। यसैगरी महाभारतमा भीष्मले धर्मको पूर्ण व्याख्या गर्न आफ्नो मृत्युलाई केही समय टार्छन् भने कृष्णले युद्ध र शान्ति दुवैको समयमा अधिकार र कर्तव्यहरूबारे छलफल गर्न एक आसन्न युद्धनै रोक्छन्।
महाभारतमा भनिएको छ– “अमृतं चैव मृत्युश्च द्वयं देहे प्रतिष्ठितम्” अर्थात् मृत्यु र अमरता दुवै मानव शरीरमा सह-अस्तित्वमा स्थापित भएका कुरा हुन् जसले अधिकार र कर्तव्यको सन्तुलित खोजी गर्छन्। अधिकार र कर्तव्यको विच्छेद सम्भव छैन। यस्तै रामायणले पनि आदर्श सम्बन्धको आधारमा अधिकार र कर्तव्यलाई उल्लेख गरेको छ जहाँ परिवारका सबै सदस्यबीच, राजा र प्रजाबीच, मानव र गैर-मानव बीचको सम्बन्ध अधिकार र कर्तव्यको पारस्परिकतामा आधारित हुन्छ।[8]
निष्कर्ष
वैदिक साहित्यमा मानव अधिकारको बारेमा स्पष्ट र प्रत्यक्ष रूपमा चर्चा गरिएको छैन र यति पुरातन ग्रन्थमा उक्त कुराको अपेक्षा राख्नु पनि स्वाभाविक होइन। यद्यपि वैदिक ग्रन्थहरुले मानव अधिकारका केही उच्च आदर्श तथा इतिहास लेखनमा योगदान नगरेको भने होइन। किनभने वैदिक साहित्यमा मानव र प्रकृतिको तालमेल, अधिकार र कर्तव्यको संयोजनलाई अधिक महत्व दिइएको छ। वैदिक साहित्यमा मानव अधिकारको अवधारणा अमूर्त भएपनि मानव अधिकारका आधुनिक दस्तावेजमा यसको प्रशस्त प्रभाव परेको पाइन्छ। वैदिक साहित्यले कर्तव्य र अधिकारलाई समानुपातिक रुपमा व्यवहार गर्दछ।
वैदिक समाज अधिक दायित्वपूर्ण भएकाले दायित्व पूरा गर्नु नै अधिकारको उपभोग गर्नु भन्ने बुझिन्थ्यो। उत्तरदायीपूर्ण समाजमा व्यक्तिका अधिकारहरु स्वतः सुनिश्चित भएका हुन्छन्। अतः यी अमूर्त अधिकारहरू कानून र समाजभन्दा पनि अगाडि छन् र समग्र मानवता र प्रकृतिको हितमा छन्। सम्पत्तिको स्वामित्वको अधिकारको अवधारणा सम्बन्धमा भने बैदिक साहित्य स्पष्ट छैन। जुन आधुनिक समाजको महत्वपूर्ण मानव अधिकारमध्येको एक हो। यसबाहेक, धर्म र धर्म-राजाको आदर्शलाई अधिकारको अवधारणासँग स्पष्ट एकरूपता भएको भनेर व्याख्या गर्नु हुँदैन।[9]
[1] https://www.ohchr.org/en/what-are-human-rights
[2] https://www.unicef.org/child-rights-convention/what-are-human-rights
[3] https://humanrights.gov.au/about/what-are-human-rights#:~:text=They%20are%20based%20on%20principles,choices%20in%20our%20daily%20lives.
[4] https://prawo.uni.wroc.pl/sites/default/files/students-resources/Introduction%20to%20human%20rights.pdf
[5] https://www.tandfonline.com/doi/full/10.1080/23311886.2020.1858562#d1e245
[6] https://ijcrt.org/papers/IJCRT2211599.pdf
[7] https://www.tandfonline.com/doi/full/10.1080/23311886.2020.1858562#d1e705
[8]https://www.researchgate.net/publication/376457419_Human_Rights_in_Ancient_Indian_Culture_and_Philosophy/link/6579815dfc4b416622c01398/download?_tp=eyJjb250ZXh0Ijp7ImZpcnN0UGFnZSI6InB1YmxpY2F0aW9uIiwicGFnZSI6InB1YmxpY2F0aW9uIn19
[9]https://www.researchgate.net/publication/347950089_Ancient_Vedic_Literature_and_Human_Rights_Resonances_and_Dissonances